मुख्यमन्त्री हिक्मत कार्की र माओवादी दलका नेता इन्द्र आङ्बो
विराटनगर : केन्द्रमा नयाँ समीकरण बनेर नेपाली काँग्रेसको सहयोगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भइसकेका छन् भने माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ ।
केन्द्रसँगै सबै प्रदेशमा एमाले र काँग्रेसको सत्ता सहकार्य सुरु भए पनि कोशी प्रदेशमा भने माओवादीले सरकार छाडेको छैन । मुख्यमन्त्री हिक्मत कार्कीले पनि माओवादीलाई सरकार छाड्न कुनै निर्देशन दिएका छैनन् । बरु माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई भेटेर कार्कीले आइतबार तत्काल सरकार नछाड्न आग्रह गरेका छन् ।
वैशाख २७ गते माओवादीको सहयोगमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा माओवादीबाट तीन जना मन्त्री छन् । भौतिक पूर्वाधारमा गणेश उप्रेती, स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमा नारायण बुर्जा मगर मन्त्री छन् । पर्यटनमा वन्दना झागर राज्यमन्त्री छिन् ।
मुख्यमन्त्री कार्कीले माओवादीसँग छलफल गरेर सरकार नछाड्न आग्रह गरे पनि एमाले संसदीय दलका नेता रेवती रमण भण्डारीले माओवादीले परिस्थिति बुझेर आफै राजीनामा दिने बताए ।
भण्डारीले मन्त्रीहरूलाई राजीनामा दिइहाल भनेर नभनेको भए पनि माओवादी आफैले नयाँ राजनीतिक घटनाक्रम बुझ्नुपर्ने बताए ।
माओवादी संसदीय दलका नेता आङ्बो पनि तत्काल सरकार नछाड्ने बताउँछन् । मुख्यमन्त्री कार्कीले तत्काल सरकार नछाड्न आग्रह गरेको बताउँदै उनले भने, ‘अहिले नै हामी सरकारबाट बाहिरिँदैनौँ । मुख्यमन्त्रीले पनि सरकार छाडिहाल्नुस् भनेर भन्नुभएको छैन ।’
एमाले नेताहरू भने हिजो मुख्यमन्त्री बनाउन सहयोग गरेकै कारण मुख्यमन्त्रीले माओवादीलाई सरकार छाडिहाल भन्न नसकेको बताउँछन् । एमाले प्रदेश सांसदसमेत रहेका ती नेताले भने, ‘माओवादीका मन्त्रीहरूले नैतिकता देखाएर राजीनामा दिनुपर्ने हो । तर, उहाँहरूमा सत्ताको मोह कतिसम्म रहेका भन्ने यहीँबाट थाहा हुन्छ ।’
यता काँग्रेस भने कहिले माओवादी सरकारबाट बाहिरिन्छ र आफूहरू सरकारमा जाँउ भनेर बाटो हेरिरहेको छ । काङ्ग्रेसबाट मन्त्री बन्न दर्जन बढी आकाङ्क्षी छन् ।
काङ्ग्रेसबाट मन्त्री बन्नका लागि नेताहरूले लबिङ सुरु गरेका छन् । काङ्ग्रेसबाट दर्जन बढी सांसद मन्त्री बन्ने लाइनमा रहेको बुझिएको छ ।
काङ्ग्रेसबाट मन्त्री बन्ने सूचिमा केन्द्रीय सदस्य भीम पराजुली, प्रदीप सुनुवार छन् । दुवै जना पार्टी सभापति शेरबहादुर निकट हुन् । पराजुली मोरङ ४(२) का सांसद हुन भने सुनुवार ओखलढुङ्गा १ का सांसद हुन् । सुनुवार यसअघि उद्धव थापा नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।
यस्तै उदयपुरका हिमाल कार्की पनि मन्त्री बन्ने लाइनमा छन् । काँग्रेसका जिल्ला सभापतिसमेत रहेका कार्की अघिल्लो कार्यकालमा केही समय मन्त्री भएका थिए । कार्कीसँगै काँग्रेसका कोशीका महामन्त्री भूपेन्द्र राई, मोरङका मानबहादुर लिम्बू, इलामका गोविन्द गिरी, झापाका गोपाल तामाङ, सुनसरीका इस्राइल मन्सुरी मन्त्री बन्न लबिङ गरिरहेका छन् ।
यस्तै महिलाबाट माया श्रेष्ठ र डोल्मा तामाङ राज्यमन्त्री बन्न सक्ने काँग्रेस स्रोतले बतायो ।
निवर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका उदयपुरका रामकुमार खत्री र इलामका शमशेर राईले पनि मन्त्री बन्ने चाहाना राखेका छन् ।
एमाले स्रोतका अनुसार एमालेले आफूसँग ५ वटा मन्त्रालय राखेर ४ वटा काँग्रेसलाई दिने तयारी गरेको छ ।