Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा मन्त्री बन्न कांग्रेसबाट दर्जनबढी सांसद लाइनमा



विराटनगर : सत्ता समीकरण फेरबदलका कारण कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा सहभागी हुनेछ भने नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुग्ने भएको छ ।

केन्द्रमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेपनि कोशीमा प्रदेशमा भने माओवादीले सरकार छाडिसकेको छैन् ।

कोशीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । केन्द्रमा भएको सहमति अनुसार प्रदेशमा उनकै नेतृत्वमा सरकार बन्नेछ ।

प्रदेश सरकारबाट माओवादी बाहिरिने बित्तिकै नेपाली कांग्रेस सरकारमा सहभागी हुने एमालेका एक जना नेताले बताए । ती नेता भन्छन्, ‘प्रदेशमा केन्द्रकै समीकरण अनुसार अघि बढ्छ । माओवादीले सरकार छाडेपछि कांग्रेस सरकारमा सहभागी हुन्छ ।’

प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै कांग्रेसबाट मन्त्री बन्नका लागि नेताहरुले लबिङ सुरु गरेका छन् । कांग्रेसबाट दर्जनबढी सांसद मन्त्री बन्ने लाइनमा रहेको बुझिएको छ ।

कांग्रेसबाट मन्त्री बन्ने सूचिमा केन्द्रीय सदस्य भीम पराजुली, प्रदीप सुनुवार छन् । दुवै जना पार्टी सभापति शेरबहादुर निकट हुन् । पराजुली मोरङ ४(२) का सांसद हुन भने सुनुवार ओखलढुंगा १ का सांसद हुन् । सुनुवार यसअघि उद्धव थापा नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।

यद्यपि पारजुली आफू मन्त्री बन्ने लाइनमा नरहेको बताउँछन् । पार्टी सरकारमा जानुपर्छ भनेर निर्णय गरेमात्रै आफू सरकारमा जाने उनले बताए ।

यस्तै उदयपुरका हिमाल कार्की पनि मन्त्री बन्ने लाइनमा छन् । कांग्रेसका जिल्ला सभापतिसमेत रहेका कार्की अघिल्लो कार्यकालमा केही समय मन्त्री भएका थिए । कार्कीसँगै कांग्रेसका कोशीका महामन्त्री भूपेन्द्र राई, मोरङका मानबहादुर लिम्बू, इलामका गोविन्द गिरी, झापाका गोपाल तामाङ, सुनसरीका इस्राइल मन्सुरी मन्त्री बन्न लबिङ गरिरहेका छन् ।

यस्तै महिलाबाट मैया श्रेष्ठ र डोल्मा तामाङ राज्यमन्त्री बन्न सक्ने कांग्रेस स्रोतले बतायो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका उदयपुरका रामकुमार खत्री र इलामका शमशेर राईले पनि मन्त्री बन्ने चाहाना राखेका छन् ।

कोशीमा मुख्यमन्त्रीसहित ९ वटा मन्त्रालय रहेको छ । तीमध्ये ६ वटामा अहिले एमालेले नेतृत्व गरिरहेको छ भने बाँकीमा माओवादीका मन्त्री छन् । एमाले स्रोतका अनुसार एमालेले आफूसँग ५ वटा मन्त्रालय राखेर ४ वटा कांग्रेसलाई दिने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार