विराटनगर : केही समयअघि मात्रै राजनीति छाडेका गौतम गम्भीर भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
पूर्व क्रिकेट खेलाडीसमेत रहेका गौतम २०१९ देखि भारतीय जनता पार्टीमा सक्रिय भएर लागेका थिए । उनी पूर्वी दिल्लीबाट सांसद पनि निर्वाचित भए ।
तर, उनले केही समयअघि मात्रै राजनीतिबाट हात धोएका हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् ।
गम्भीरलाई मंगलबार भारतको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । गम्भीर मुख्य प्रशिक्षक नियुक्त भएको घोषणा गर्दै बीसीसीआईका सचिव जय शाहले उनलाई स्वागत गर्न पाउँदा आफू धेरै खुसी भएको बताएका छन् ।
उनले भनेका छन्, म गौतम गम्भीरलाई भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्न पाउँदा धेरै खुसी छु ।
यस वर्षको आईपीएलमा गम्भीरले मेन्टरिङ गरेको कोलकाता नाइट राइडर्सले उपाधि जितेको थियो ।
त्यसो त गौतम आफैले पनि आफ्नो कप्तानीमा कोलकोतालाई दुईपटक आईपील उपाधि जिताएका छन् ।
भारतले २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा उनी टीमको मुख्य सदस्य थिए ।