विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन र कृषिका हिसावले तेह्रथुम महत्वपूर्ण जिल्ला भएको बताएका छन् । बुधबार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको उद्धाटन गर्दै उनले तेह्रथुमका किसानका समस्या समाधान गर्न प्रदेश सरकार कठिबद्ध रहेको बताए ।
नगद अनुदानको दुरुपयोग बढेको आशंका गर्दै उनले अब किसानलाई ब्याज अनुदान दिने बताए । ब्याज अनुदानका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
प्रदेशलाई चुस्त पार्नका लागि आगामी बर्ष सात सय कर्मचारी थप्ने तयारी रहेको बताउँदै उनले भने, ‘त्यसपछि प्रदेश सरकारलाई कार्यालय थप गरेर काम गर्न सजिलो हुन्छ ।’
कोशी सरकारले यस वर्ष मात्रै ६ वटा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र थप्नेगरी काम गरिरहेको जानकारी कार्कीले दिए । प्रदेशमा पशुपालनको धेरै सम्भावना भएको र त्यसलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन प्रदेश सरकारले खोरेत रोग निर्मूल गर्न अभियान चलाइरहेको कार्कीले बताए ।
तेह्रथुमको विकासमा आफूले ध्यान दिइरहेको बताउँदै उनले आगामी दिनमा योजना बैठकमा योजना सम्मेलन गरेर प्राथमिकताका आधारमा योजना समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे । सरकारले बसाईसराई घटाउने योजनाका साथ काम गरिरहेको उनको दाबी छ ।
कोशी पर्यटन वर्ष मनाउने तयारी रहेको जानकारी दिँदै आगामी वर्ष बैशाखबाट तीनजुरे मिल्केबाट पर्यटन वर्षको सुरु गरिने उनले बताए ।
कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, कमला दर्नाल, म्याङ्लुङका मेयर संजय तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी मिना अर्याललगायतको उपस्थिति रहेको थियो ।