Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लेखा समितिको चासोपछि रिलायन्स स्पिनिङको आईपीओ रोकियो



विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चासो राखेपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित गराएको छ ।

रिलायन्सले (भोलि) बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेपनि लेखा समितिले चासो देखाएपछि नेपाल धितोपत्र बोर्डले तत्कालका लागि आईपीओ स्थगित गर्ने निर्णय गरेको हो ।

मंगलबार सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेको थियो ।

रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग ७ दिनभित्र जवाफ माग गर्दै पत्र पठाएको थियो । ‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको कम्पनीले उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?,’ लेखाको प्रश्न छ ।

अहिलेकै अवस्थामा कम्पनीले तोकेको मूल्यमा आईपीओ जारी गर्न दिँदा सर्वसाधारण लगानीकर्ता ठगिन सक्ने भन्दै समितिले मंगलबार यस सम्बन्धी विस्तृत विवरण पेस गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

कम्पनीको मूल्य के आधारमा तय गरिएको हो? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो? भन्ने प्रश्नको जवाफ ७ दिनभित्र दिन समितिले भनेको छ ।

धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नवराज अधिकारीले लेखाको ध्यानाकर्षण भएपछि रिलायन्सको आईपीओ हाललाई स्थगित भएको जानकारी दिए ।

‘लेखाले प्रश्न गरिसकेपछि हाम्रा सबै विभागसँग यसबारे छलफल भयो, सञ्चालक समितिमा जानकारी गरायौं, त्यसपछि सञ्चालक समितिले आईपीओ निष्कासन कार्य हाललाई स्थगित गर्ने निर्णय गरेको हो,’ अधिकारीले भने । यससँगै कम्पनीको आईपीओ निष्कासन कार्य अनिश्चित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार