Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विदेशमा घाइते तथा मृत्यु भएका नेपालीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्न माग



विराटनगर : रिटर्नी फेडेरेसन नेपाल मोरङ जिल्ला कमिटीले प्रवासमा घाइते तथा मृत्यु भएका प्रवासी नेपालीका छोराछोरीलाई सामुदायिक तथा निजी विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने वातावरण मिलाई दिन कोशी प्रदेश सरकारसँग माग गरेको छ ।

मंगलबार रिटर्नी फेडेरेसन मोरङको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

फेडेरेसनले प्रवासमा मृत्यु भएका परिवारको निम्ति रोजगारी आरक्षण निर्धारण गरि रोजगारका अवसरहरु प्रदान गर्न मुख्यमन्त्रीलाई आग्रह गरिएको रिटर्नी फेडेरेसन मोरङका सचिव सन्तोष बरालले जानकारी दिए ।

बरालले मुख्यमन्त्रीसमक्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीका परिवारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गतको एक लाख सम्मको स्वास्थ्य बिमा सरकारले निःशुल्क व्यवस्था मिलाउन आग्रह गरेको बताए ।

यस्तै रिटर्नीको व्यवस्थापनका लागि प्रदेश स्तरमा छुट्टै सरकारी संरचना तयार गर्न आग्रह गरिएको छ । प्रवासमा आर्जन गरेको ज्ञान, सिप र पुजीलाई स्वदेशमा स्थापित गर्न रिटर्नीहरुद्वारा संचालन गरिने र गरिएका उद्योग र व्यवसायहरुलाई निश्चित अवधिका लागि कर छुट र सहुलीय ऋणको व्यवस्था गरिदिन फेडेरेसन मोरङले माग गरेको छ ।

त्यसैगरी स्थानीय तहमा विनियोजन गरिने वार्षिक बजेटमध्ये कम्तिमा २५ लाख रकम रिटर्नीहरुको सहजीकरणका लागि छुट्याउने व्यवस्था मिलाउनसमेत माग गरिएको बरालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार