Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा ढुक्क कार्की, प्रतिक्षा २८ असारको !


  • Purbeli Press
  • मंगलबार, असार २६ २०८१

विराटनगर : केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बन्ने तय भएपछि त्यसको असर प्रदेशसम्म हुने देखिन्छ । केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेश सरकारहरु पनि फेरबदल हुने निश्चित जस्तै छ ।

तर, केन्द्रमा बनेको नयाँ गठबन्धनले कोशी प्रदेशको सत्ता राजनीतिमा खासै असर गर्दैन । कांग्रेस एमालेको केन्द्रीय सहमति अनुसार कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने उल्लेख छ । यदि त्यसो हो भने हालका मुख्यमन्त्री हिक्मतकुमार कार्की निरन्तर रहन्छन् । प्रदेशको मुख्यमन्त्रीमा कार्की ढुक्क देखिएका छन् ।

माओवादीको सहयोगमा बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्की  संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । केन्द्रको सहमति अनुसार अब कार्की नै मुख्यमन्त्री बन्नेछन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा सामेल हुनेछ । अहिले सरकारमा रहेको नेकपा माओवादी प्रतिपक्षमा पुग्नेछ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेको ४० (उपसभामुख सहित) र नेपाली कांग्रेसको २९ सांसद छन् । यहाँ सरकार बनाउन कम्तीमा पनि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । दुई दल मिल्दा सहजै बहुमत पुग्छ अर्थात दुई दलसँग ६९ सांसद छन् ।

प्रदेशमा एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले नै मुख्यमन्त्रीमा निरन्तरता पाउनेछन् । माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीको सरकार माओवादीका तर्फबाट तीन मन्त्री र एकजना राज्यमन्त्री छन् ।

भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथाल वातावरण मन्त्री नारायण बुर्जा मगर र पर्यटन, वन तथाल वातावरण राज्यमन्त्री बन्दना झाँगड छन् । केन्द्रमा समीकरण बदलिएसँगै कोशीमा माओवादीले के गर्छ भन्ने विषय चासोका साथ हेरिएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सरकारबाट फिर्ता आउने वा नआउने भन्नेमा माथिको निर्देशन आएपछि हुने बताउँछन् ।

‘माथिको निर्देशनअनुसार अगाडि बढ्छौँ,’ आङ्बोले भने, ‘केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि ‘स्वाभाविक हिसाबले सोहीअनुसार हाम्रो दल पनि अगाडि बढ्छ ।’ उनले अहिलेनै निर्णय गर्न हतारो नभएको बताए ।

नेकपा एमाले भने कोशीमा सर्वदलीय सरकार बनाएर जाने तयारीमा छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको राजनीति सर्वदलीय सरकार बन्नेतिर जान सक्ने बताए ।

‘सर्वदलीय सरकार बनाउने कुरा केन्द्रमा के हुन्छ ? राष्ट्रिय सहमतिको सरकारमा माओवादी सामेल हुन्छ कि हुँदैन, त्यो पनि एउटा आधार बन्छ । अर्को कुरा २८ गतेपछि कस्तो परिस्थिति बन्छ । त्यो पनि प्रदेशको राजनीतिको एउटा आधार बन्छ,’ भण्डारीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिँदैछन् । त्यसपछि मात्रै प्रदेशको नयाँ कोर्स अघि बढ्ने नेताहरु बताउँछन् । माओवादीका एक जना सांसदले कोशीमा आफूहरु असार २८ गतेसम्म फर्खिएर बस्ने बताए । ती सांसद भन्छन्, ‘२८ गते केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यसपछि राजनीति कस्तो दिशातर्फ अघि बढ्छ त्यसलाई हेरेर प्रदेशबारे हामी निर्णयमा पुग्छौँ । प्रदेशमा सहमतिको सरकार पनि बन्न सक्छ ।’

यता मुख्यमन्त्री कार्कीले केन्द्रमा २८ गते नयाँ समीकरणअनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभावअनुसार कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताए ।

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभए पनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने बताए ।

मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भए पनि केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताए । कार्की केन्द्रमा सहमतिको सरकार बनाउने गृहकार्य भइरहेका कारण प्रदेशमा पनि सहमतिको सरकार निर्माणको प्रयास गर्ने बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार