विराटनगर : कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव महेन्द्र प्रसाद गुरागाईलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
लामो समय निजामती सेवामा काम गरेका गुरागाईसँग लोक सेवा आयोगमा काम गरेको अनुभव छ । उनले दुई बर्ष अघि सेवाबाट अवकाश लिएका थिए ।
तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएपनि उनको परिवार मोरङको मंगलबारेमा बसोबास गर्दै आएको छ । सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी ब्यवस्था छ ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्ष समावधि ६ बर्षको हुन्छ । यस अघिका अध्यक्ष उतम भट्टराईले उमेर हदका कारण अवकाश लिएपछि पद रिक्त थियो ।