विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन चलिरहँदा सो पार्टीका नेता प्रेम आले भने भारत भ्रमणमा थिए।
नेकपा एसमा प्रभावशाली नेताका रूपमा रहेका आले पार्टी महाधिवेशन सुरु हुनु अगाडि नै भारत भ्रमणमा थिए । उनी पार्टीको महाधिवेशन सकिएपछि नेपाल फर्किएका छन् ।
महाधिवेशनले सर्वसम्मत केन्द्रीय कमिटीको घोषणा गर्दा त्यसमा आलेको नाम अटाएको छैन।
आलेले आफू विगत आठ महिनादेखि पार्टीमा निष्क्रिय रहेको बताए । पार्टीको राजनीतिक दिशा स्पष्ट नभएको उनको भनाइ छ । उनले भने, ‘पार्टीको राजनीतिक दिशा स्पष्ट भएन, नेताहरूमा हिम्मत पनि देखिएन । त्यसैले म ८ महिनादेखि पार्टीमा निष्क्रिय छु। पार्टीको गतिविधिमा संलग्न छैन ।’
उनले आफू केही समयदेखि पार्टी काममा भन्दा बढी जनताको काममा लागिरहेको बताए ।
भविष्यमा अन्य पार्टीमा जाने सम्भावना रहेको बताउँदै आलेले अहिलेलाई आफू स्वतन्त्र भएको बताए।