विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। बुधबार साँझ दाहाल नेतृत्वको सरकारमा सहभागी एमालेका आठजना मन्त्रीले राजीनामा दिएका हुन् ।
यसअघि एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ।
सोमबार नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए।
मङ्गलबार बसेको एमाले सचिवालय बैठकले दाहाललाई राजीनामा दिन २४ घण्टाको समय दिएको थियो। तर, तोकिएको समयमा दाहालले राजीनामा नदिएपछि सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। अल्पमतमा परेका दाहालले पदबाट राजीनामा नदिने र विश्वासको मत लिन सदन फेस गर्ने उद्घोष गरिसकेका छन्।