Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्कीले दिए धान दिवसको शुभकामना



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको शुभकामना दिएका छन् । शनिबार शुभकामना सन्देश जारी गर्दै नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट सबैलाई प्रेरणा प्राप्त होस् भनि शुभकामना व्यक्त गरेका हुन्।

कृषिको विकासविना समग्र देशको आर्थिक उन्नति सम्भव नभएको बताउँदै कार्कीले कृषिलाई प्राथमिकतामा राखी उत्पादन बढाउनु आजको आवश्यकता भएको बताए ।

कार्कीले भने, ‘पछिल्लो समय बसाइँसराइ र विदेश पलायनले कृषि क्षेत्र धरासायी बन्दै गएकाले चिन्तित तुल्याएको छ   कृषि क्षेत्रको सुधार नभएसम्म हाम्रा उद्योगधन्दा फस्टाउने अवस्था छैनन् । यो परिवेशमा प्रदेश सरकार सीमित स्रोत र साधनका बीच कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ प्रदेश सरकारले गुणस्तरीय बिउको उत्पादन र कृषिमा यान्त्रिकरणलाई ध्यान दिएर काम गरिरहेको उनले बताए ।

मलको अभाव कम गर्नलाई कोशी प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि, बाढीपहिरो तथा रोग किराका कारण धान उत्पादनमा असर परिरहेको भन्दै मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरे । ‘यो परिवेशमा धान उत्पादन वृद्धि गरी खाद्य सुरक्षामा असर नपुग्ने गरी काम गर्नुपर्ने अवस्था रहेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘जलवायु परिवर्तनले पारेको असरसँग अनुकूल हुने धानका जात तथा खेती प्रविधिको विकास गरी प्रविधिमैत्री उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’

कृषि क्षेत्रको विकास र बृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को  राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै उनले धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन प्रदेशबासीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार