Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुर्घटना न्यूनीकरण गर्न स्वयम व्यक्ति सचेत हुनुपर्छ : मुख्यमन्त्री कार्की



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसलाई न्यूनिकरण गर्न व्यक्ति स्वयम सचेत हुनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगरमा ट्राफिक सचेतना कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै यसका लागि हामी सबैको सामुहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए ।

उनले दुर्घटनाबाट सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको र घाइते हजारौ भएको उल्लेख गर्दै यसको न्यूनिकरणको लागि चालक, सहचालक र व्यक्ति स्वयम सचेत र चनाखो हुनुपर्ने बताए ।

कोशी प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालय र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा भएको कार्यक्रममा उहाँले आगामी वर्षमा ५० प्रतिशत दुर्घटना न्यूनिकरण गर्ने गरी काम गर्न आग्रह गरे ।

प्रदेश सरकारले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न आवश्यक स्रोत साधन सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उहाँले ट्राफिक प्रहरीको संख्या बढाउन पनि प्रहरी तयार हुनुपर्ने बिचार व्यक्त गरे।

झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा नमूना ट्राफिक व्यवस्थापनमा नमूना सडक घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकात्मक प्रचार हुने र यसका लागि ट्राफिक प्रहरीले सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।

ट्राफिक सप्ताहको समयलाई पुनः बिचार गरेर दशैं, तिहार जस्ता पर्व अघि अथवा वैशाखमा यो कार्यक्रम गर्न सुझाब दिदै मुख्यमन्त्री कार्कीले यसो गरेमा कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक सचेतना घर घरमा पुर्याउनुपर्नेमा जोड दिए । उनले ट्राफिक प्रहरीलाई आधुनिकीकरण गरेर लैजान सरकार लागि परेको बताए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खाँपुङले सडक दुर्घटना न्यूनीकरणमा राज्यको ध्यान गम्भिर रुपमा नगएको बताए।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, यातायात व्यवसायी सरोज श्रेष्ठ, ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेललगातयले बोलेा थिए । असार ६ गतेबाट सुरु भएको ट्राफिक सप्ताह असार १२ गतेसम्म संचालन हुनेछ । अभियान भरीमा विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार