विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चार जनाको निधन भएको घटनाप्रति दुख व्यक्त गरेका छन् । उनले मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेका हुन् ।
शुक्रबार बिहानैदेखि उनले सुरक्षा निकायका प्रमुखहरु र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुसँग टेलिफोन संवाद गरी जिल्लाको अवस्था बझ्दै राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन् ।
प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुसँग भौतिक र मानवीय क्षति कम गर्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा पनि उनले कुराकानी गरेका छन् । जिल्लामा सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेका राहत र उद्धारका कामहरुका विषयमा कार्कीको चासो छ ।
अहिले बाढी पहिरो र वर्षाको समय भएकाले यस्तो बेलामा प्रदेश सरकारबाट गर्न सकिने सहयोग र उद्धारका बारेमा पनि मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायहरुसँग छलफल गरेका छन् ।
यस्तै उनले राजनीतिक दल, सामाजिक अभियन्ता र स्वयमसेवीहरुलाई समेत काम गर्न आग्रह गरेका छन् ।