Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानून बनाउने काम सजिलो छैन् : मुख्यमन्त्री कार्की



झापा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कानून बनाउने काम सहज नभएको बताएका छन् । मुख्यमन्त्री कार्कीले कानून बनाउने काम गम्भीर रहेको भन्दै शब्दशब्दमा ध्यान दिन आवश्यक रहेको बताए ।

बुधबार प्रदेश सभा सचिवालयले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानून निर्माण प्रकृया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा बोल्दै उनले कानून निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको बताए ।

कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानून संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उनले संविधान अध्यन गरेर आवश्यक कानुन बनाउन जोड दिए। मुख्यमन्त्री कार्कीले कानून पढेर मात्रै कानून बनाउन नजानिने भन्दै कानून बनाउने काम सबै भन्दा कठिन भएको बताए ।

कानून निर्माणको लागि संघीयता आएको पछिल्लो ६ वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी लागू गर्न उनको आग्रह छ । सुशासनका लागि पनि कानून अति अवाश्यक भएकोले त्यसतर्फ समेत ध्यान दिनु पर्ने कुरामा कार्कीको जोड छ ।

उनले कानून बनाएपछि राजश्व उठाउन समेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री कार्कीले धार्मिक पर्यटनमा जोड दिनु पर्नेमा जोड दिएका छन् । उनले लुम्बिनी बुद्धिष्टहरुको लागि पवित्र भूमि भएको र त्यहाँ छिमेकीमुुलुक चीनबाट मात्रै करोडौँ पर्यटक तान्न सकिने बताए । यस्तै पशुपतिनाथ र पाथिभारा दर्शनकालागि छिमेकीमुलुक भारतबाट करोड करोड पर्यटक ल्याउन सकिने उनको भनाइ छ । पर्यटकहरुलाई सहज हुने गरीको राज्यको नीति हुन आवश्यक रहेकोमा उनले जोड दिए । कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानून निर्माणका लागि सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार