Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा ट्यांकर र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु



विराटनगर : विराटनगरमा सोमबार दिउँसो पेट्रोलको ट्यांकर र म्याजिक भ्यान ठोकिँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

सोमबार दिउँसो कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ दूध फारममा दुर्घटना हुँदा म्याजिकका चालकको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक र पश्चिमबाट पूर्वतर्फ आएर दक्षिणतर्फ मोडिँदै गरेको ना ७ ख १८७६ नम्बरको ट्यांकरमा ठोकिँएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार दुर्घटनामा म्याजिक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको छ । गम्भीर घाइते भएका साहको उपचारका क्रममा गोल्डेन अस्पतालमा दिउँसो ४ः४५ बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए ।

दुर्घटनामा विराटनगर महानगरपालिका–६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहवी नगरपालिका–२ की ४० वर्षीया सविना खातुन, मोरङको रंगेली नगरपालिका–८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन् ।

मध्यम अवस्थाका घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै घाइते म्याजिकमा सवार थिए ।

दुर्घटनापछि फरार बनेका ट्यांकर चालक सप्तरीको हनुमाननगर घर भएका ३६ वर्षीय सञ्जय ठाकुरलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार अनुसन्धानपछि दुर्घटनाको थप विषय पत्ता लाग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार