विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा चार जनालाई नियुक्त गरेको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको सदस्यमा नेकपा एमाले र नेकपा माओवादीबाट २२ जनालाई नियुक्त गरेको हो ।
आयोगको सदस्यमा एमालेका तर्फबाट काठमाडौँका डा. सिताराम बस्नेत र धरानका किशोरकुमार राई नियुक्त भएका छन् भने माओवादीबाट धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपाने नियुक्त भएकी छन् ।
प्रदेश योजना आयोगको अध्यक्ष मुख्यमन्त्री हुने व्यवस्था छ । मुख्यमन्त्री हिक्मत कार्कीले यसअघि योजना आयोगको उपाध्यक्षमा झापाका डा. राजेन्द्र अधिकारीलाई नियुक्त गरेका थिए ।
यस्तै आजको बैठकले राजनीतिक तथा शान्ति वार्ता समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर छन् । भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेको समितिको सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई तोकिएको छ ।