Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश विकास परिषद्मा १५ जना मनोनीत



विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्मा विभिन्न क्षेत्रका १५ जना उद्योगी, व्यवसायी र पेशाकर्मीलाई मनोनीत गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ जनालाई परिषद् सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद् गठन गरेको हो ।

जसमा झापा गौरादह १ का जित बहादुर कार्की, विराटनगरका उद्योगी महेश कुमार जाजु, नविन रिजाल, झापा दमककी राधीका ओझा, झापा हल्दीबारीका भवानी प्रसाद दंगाल, विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, संखुवासभाकी बबिता कटुवाल, काठमाडौका सुयस प्याकुरेल रहेका छन् ।

यस्तै उदयपुर त्रियुगाका रमेश चन्द्र रोका, बुढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीम प्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टिकाराम पुरी सदस्य रहेका छन् ।

प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठन सम्बन्धि व्यवस्था छ । उक्त दफा अनुसार परिषदको अध्यक्ष मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु र मन्त्रीको कार्यभार सम्हाल्ने राज्य मन्त्रीहरु, प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका समितिका सभापतिहरु, आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रमुख सचिव, प्रदेश सरकार मुख्य न्यायाधिवक्ता, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।

यस्तै उक्त दफाको उपदफा (छ) मा कानून बमोजिम स्थापना भएका संघ वा संस्थाका प्रतिनिधि तथा निजी क्षेत्र लगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट कम्तीमा एक तिहाई महिला सहित प्रदेश सरकारबाट मनोनीत १५ जना पनि सदस्य हुने व्यवस्था उक्त गठन आदेशमा उल्लेख छ ।

उक्त परिषदको सदस्यसचिव भने प्रदेश योजना आयोगको सचिव रहने व्यवस्था छ । परिषद बैठक आगामि जेठ २९
गते बस्ने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार