विराटनगर : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशको वेवसाइटमा सार्वजनिक विवरण अनुसार हालसम्म प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सचिवालयमा ६ जना नियुक्त भएका छन् ।
बैशाख २७ गते प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले विभिन्न मितिमा आफ्नो सचिवालयमा कर्मचारी नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयले भने भर्खरै मात्रै सचिवालयको विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री कार्कीको जनसम्पर्क सल्लाहकारमा सुनसरीका रवी खनाल नियुक्त भएका छन् । उनले लामो समयदेखि कार्कीको सचिवालयमा बसेर काम गरिरहेका छन् ।
मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदीलाई नियुक्त गरेका छन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापकको रूपमा कार्यरत सुवेदीले यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा काम गरिसकेका छन् ।
मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकारमा मोरङका बिक्रम लुईटेललाई नियुक्त गरेका छन् । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रहेका लुईटेल नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्षसमेत हुन् ।
कार्कीको प्रमुख स्वकीय सचिवमा जीवन कार्की र स्वकीय सचिवमा कमल पौडेल नियुक्त भएका छन् । उनीह? दुवै झापाका हुन् । कार्की एमालेका स्थानीय नेता हुन् भने पौडेल अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन् ।
सूचना प्रविधि सहायकमा झापाका धर्मेन्द्र राजवंशी नियुक्त भएका छन् ।
वेवसाइटमा सार्वजनिक विवरणमा हलुका सवारी चालक, कार्यालय सहयोगी र आवास सहयोगीको नाम भने उल्लेख गरिएको छैन् ।