विराटनगर : विराटनगरमा पार्किङ गरेको राखेको सरकारी गडाीमा आगजनी र तोडफोड भएको छ । आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सरकारी गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।
आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ । को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ । उनीहरुले क्यापसको गेट अगाडी रोकेर राखेको योजना आयोगको गाडीमा आगजनी गरेका हुन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारी चढेको गाडीमा आगजनी भएको मोरङ प्रहरीले जनाएको छ ।
यस्तै उनीहरुले विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड गरेका छन् । पार्टी प्यालेसमा विद्युत प्राधिकरणको कार्यक्रम थियो । कार्यक्रमका लागि पुगेकाहरूले प्रयोग गरेका विद्युत प्राधिकरणको गाडीहरू तोडफोड गरिएको हो ।
प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१०, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ । पर्खाल नाघेर पार्टी प्यालेसभित्र छिरेको अन्दाजी ९ जनाको समूह गाडी तोडफोड गरेर फरार भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सरकारी गाडीमा आगजनी र तोडफोड गर्ने खोजी भइरहेको छ । मोरङको रंगेलीमा पक्राउ परेका विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु ९स्वतन्त्र विद्यार्थी युनियन० र नेपाल विद्यार्थी संघ९नेविसंघ० का सदस्य दीपक यादवलगायत विद्यार्थीलाई छाड्नुपर्ने लगायतका माग राखेर गाडीमा आगजनी र तोडफोड गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि,यसको पुष्टि भइसकेको छैन ।