Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्काउटको कोशी प्रदेश स्तरीय आधारभूत तालिम सम्पन्न



विराटनगर : कोशी प्रदेशमा स्काउटको आधारभूत तालिम सम्पन्न भएको छ । कोशी प्रदेश स्काउट कार्यालयको आयोजना एवं सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक व्यवस्थापनमा जेठ १८ गतेदेखि संचालित आधारभूत स्काउट तालिम बुधबार सम्पन्न भएको हो ।

समापन समारोहमा कोशी प्रदेशका प्रदेश स्काउट संरक्षक एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका सबै विद्यालयमा स्काउट संचालन गर्न निर्देशन दिएका छन् । उनले स्काउटका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्काउटका प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री पाँचकर्ण राइले स्काउट गतिविधि संचालनका लागि मन्त्रालयको तर्फबाट आवश्यक कार्यक्रम एवं बजेटको प्रतिबद्धता जनाएका छन् । उनले युवा र बालबालिकाहरूको विकासमा स्काउटले सहयोग पुर्याउने बताए ।

तालिममा ५६ स्थानीय तहका ८१ सामुदायिक माध्यमिक विद्यालयका १०५ शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल स्काउटका पदाधिकारी, मन्त्रालयका अधिकृत, प्रदेश कार्यसमितिका आयुक्त, स्काउट लिडर एवं रोभर रेन्जरहरूको उपस्थिति रहेको स्काउट कोशी प्रदेश कार्यालयका अधिकृत नवराज घिमिरेले जानकारी दिए ।

तालिमको कोर्स लिडर पुरुषतर्फ योगेश हाडा र सत्यनारायण शाही तथा महिलातर्फ सिवानी देवान र रिना राजभण्डारी रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार