Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा घरको छतबाट खसेर कामदारको मृत्यु



विराटनगर : मोरङको उर्लाबारीमा घरको छतबाट खसेर एक जना कामदारको मृत्यु भएको छ । बुधबार निर्माणाधीन घरको छतबाट खसेर उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उर्लाबारी–२ का जेनिस लिम्बूको निर्माणाधीन घरको दोस्रो तलाको छतबाट खसेर श्रेष्ठ घाइते भएका थिए ।

छतबाट खस्न साथ तत्कालै उपचारका लागि उर्लाबारीमै रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगर ल्याइएको थियो ।

उनलाई उपचारका लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार