विराटनगर : कोशी प्रदेशसभा सदस्य मालती लिम्बूले सरकारले ल्याएको नीति तथा कार्यक्रम ‘माछो माछो भ्यागुतो’ जस्तो नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् । उनले सरकारको भनाइ र गराईको तालमेल नमिल्ने गरेको बताउँदै अब यस्तो नदोहोर्याउन आग्रह गरेकी छन् ।
सांसद लिम्बूले सरकारले दिगो विकासको अवधारणा अनिवार्य लागू गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सरकारले दिगो विकासको अवधारणालाई अनिवार्य लागू गर्नुुपर्छ । अनिमात्र प्रदेशको विकास हुन्छ । नभए भनाइ एकातिर हुन्छ, काम गराई अर्कैतिर ।’
यस्तै उनले गरिब, विपन्न परिवारका महिलाहरुको प्रसुती निःशुल्क गराउन सरकारले योजना बनाउनुपर्ने बताइन् । प्रसुती गराउने विपन्न महिलाहले पैसा अभावका कारण अस्पतालबाट दुख पाइरहेकाले निःशुल्क गर्ने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरेकी छन् ।
सांसद लिम्बूले मोरङको रतुवामाई ८ मा रहेको अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउन मागसमेत गरेकी छन् ।