विराटनगर : उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान मदनभण्डारी लोकमार्गहुँदै गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको टिपर त्रियुगा नगरपालिका १ फुलजोरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गाईघाटबाट पूर्व बेल्टारतर्फ जाँदै गरेको प्र १–०२–०५२ प ३०५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुनसरी घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँपका २४ वर्षीय हिरा राईको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार प्रहरीले घटनास्थलबाट प्र १–०२– ००१ ख ८५१४ टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।