विराटनगर : कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले हिमाल र पहाडको बसाइँसराइ रोक्न सरकारले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले बसाइँसराइ रोक्न सकेमात्र हिमाल र पहाडमा आर्थिक समृद्धि गर्न सकिने बताए ।
उनले शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्था नहुँदा बसाइँसराइ तीव्र रुपमा बढिरहेको बताउँदै सरकारले आगामी बजेटमार्फत शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए ।
यस्तै कृषिमा प्रचुर सम्भावना भएको र त्यसलाई व्यवसायीक हिसाबले अघि बढाउनुपन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘हिमाली क्षेत्रमा फलफूल र जडिबुटीबाट मनग्य आम्दानी गर्न सकिन्छ । तर, सरकारले त्यहाँका किसानलाई उचित व्यवस्थापन गर्न नसक्नदा समस्या भइरहेको छ । सिचाइको समस्या छ । बजारीकरणको समस्या छ । यदि सरकारले यस्ता कुराहरुको समस्या समाधान हुनेगरी काम गर्ने हो भने हिमाल र पहाडमा उत्पादनमार्फत आर्थिक समृद्धि गर्न सम्भव छ ।’
प्रदेश सरकारले विद्युतिय सवारीसाधनमा जोड दिएको भन्दै उनले सरकारलाई धन्यवादसमेत दिएका छन् । नीति तथा कार्यक्रममा आएका कुराहरुलाई सरकारले प्राथमिकताका साथ लागू गर्नुपर्ने उनको भनाइ छ ।