विराटनगर : नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कार मुद्धामा अदालतले सफाइ दिएपनि उनले विश्वकप खेल्न पाउने कि नपाउने भन्ने विषय टुंगो लागेको छैन् । नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्याउन सन्दीपको भूमिका महत्वपूर्ण छ ।
आइसीसी टि २० विश्वकपका लागि नेपाली क्रिकेट टोली अमेरिकामा हुँदा सन्दीप नेपालमै छन् । उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । माथिल्लो निकायबाट उचित पहल नहुँदा सन्दीपको अमेरिका जाने प्रकृया अन्योलमा छ ।
सन्दीपले विश्वकप खेल्न पाउने कि नपाउने भन्ने द्धिविधा हुँदा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी भने धमाधम अमेरिका जान थालेका छन् ।
सन्दीपलाई अन्योलमा राखेर उनीहरु श्रीमतीसहित अमेरिका गएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का मंगलबार श्रीमतीसहित अमेरिका प्रस्थान गरेका हुन् । उनीहरु श्रीमतीसहित अमेरिका गएपछि यतिबेला उक्त विषयले सामाजिक सञ्जाल तताइरहेको छ ।
सन्दीपलाई विश्वकप खेल्न दिनुपर्ने माग गर्दै दिनहूँ नेपालस्थित अमेरिकी दूतावासमा क्रिकेट समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।
दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि आक्रमक देखिएका नेपाली क्रिकेट समर्थकहरुले क्यानका पदाधिकारी र दूतावासको चर्को विरोध गरिरहेका छन्।
यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन ।
विश्वकप खेल्ने टिमका लागि आइसिसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसका अध्यक्ष चन्द आइसिसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् ।
आइसिसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रूपमा रहेका छन् । नेपाली टिम झण्डै एक महिनाअघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए ।
यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप मजगैया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन् । अध्यक्ष चन्द नेपाली कांग्रेसका बैतडी सभापति पनि हुन् ।
सचिवसहित अन्य केन्द्रीय सदस्य पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका अन्य व्यक्ति पनि जाने तयारीमा रहेको बुझिएको छ ।