विराटनगर : जनता समाजवादी पार्टीको विवाद केन्द्रदेखि तल्लो तहसम्मै देखिन थालेको छ । अशोक राई नेतृत्वको समूहले पार्टी फुटाएर छुट्टै पार्टी गठन गरेपछि विवाद देखिएको हो ।
कोशी प्रदेशमा पनि विवाद देखिन सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी कोशी प्रदेश समितिले ११ जना प्रदेशका पदाधिकारीलाई निष्काशन गरेको छ ।
मंगलबार पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले प्रदेशका कोषाध्यक्षसहित ११ जनालाई पार्टी हित विपरीत काम गरेको जनाउँदै कारबाही गरेको जानकारी दिए । कारबाहीमा परेकाहरु अशोक राई समूहका नेता हुन् ।
पार्टीबाट निष्काशित हुनेहरुमा प्रदेश कोषाध्यक्ष केशरमान गुरुङ, प्रदेश निर्वाचन आयोग अध्यक्ष विनोद नेम्वाङ, प्रदेश लेखा परीक्षण आयोग अध्यक्ष केवलराम राई, प्रदेश कार्यकारिणी समिति सदस्यद्वय राम मान्डुप्पा र मिना राई, प्रदेश सदस्य मनकला लङ्वा, रिता राई, सनम राजवंशी, लिलाबहादुर सुनुवार, गौरीमान राई र मिरा कार्की रहेका छन् ।
विनोद नेम्वाङ जसपा नेपालबाट इलामको माङ्सेबुङ गाउँपालिकामा निर्वाचित उपाध्यक्ष हुन् भने मनकल लङ्वा धनकुटा नगरपालिकाकी कार्यपालिका सदस्य हुन् । उनी नेपाली कांग्रेस र जसपा नेपालको चुनावी तालमेलमार्फत धनकुटा वडा नम्बर १ मा महिला सदस्य निर्वाचित भएकी थिइन् ।