विराटनगर : नेकपा एमाले धनकुटा जिल्ला कमिटीको अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट जिल्ला कमिटीको पदाधिकारीमा लिम्बूको प्यानलै विजयी भएको हो ।
जिल्ला अध्यक्षका लागि लिम्बू र निरेन तामाङले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । लिम्बूले ३१४ भोट पाउँदा प्रतिद्वन्द्वी तामाङले २०७ भोट मात्रै पाए ।
उपाध्यक्षमा लिम्बू समूहका चिन्तन तामाङ २९४ मतसहित निर्वाचित हुँदा मनोज राईले २०९ मत ल्याए ।
सचिवमा पर्शुराम नेपाल निर्वाचित भएका छन् । नेपालले २९६ मत ल्याएर निर्वाचित भएका हुन् भने सचिवका अर्का उम्मेदवार शेरबहादुर लिम्बूले १९६ मत ल्याए ।
खुल्ला उपसिचवमा गोपाल भट्टराईलाई पराजित गर्दै लिम्बू समूहका नैन विश्वकर्मा विजयी भएका छन् । विश्वकर्माले २९३ मत ल्याएर निर्वाचित हुँदा भट्टराईले १८७ मत ल्याए ।
यस्तै महिला उपसचिवमा तुलसी राई निर्वाचित भएकी छन् । उनले २६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी मन कुमारी तितुङले २२६ मत ल्याइन् ।
पदाधिकारीमा निर्वाचित भएकाहरुलाई धनकुटाका पूर्वअध्यक्ष एवं खानेपानी मन्त्री राजेन्द्र राईको समर्थन रहेको थियो । अध्यक्षमा पराजित भएका निरेन तामाङको समूहलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईको समर्थन थियो ।