Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने, केदार कार्की अदालत जाने



विराटनगर : कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी थालेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीले आज दाबी पेस गर्ने तयारी गरेका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार बिहान १० बजेसम्ममा बहुमत सदस्यसहित दाबी गर्ने तयारी छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर बुधबार राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरेका थिए । दाबी पेस भएपछि बहुमत परीक्षणका लागि दिउँसो सबै सांसदको सनाखत गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ ।

एमाले र माओवादी केन्द्रले सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा परिचय खुल्ने कागजसहित उपस्थित हुन निर्देशन दिइसकेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ । प्रदेशमा एमाले र माओवादीका गरी ५२ सांसद छन् । मुख्यमन्त्रीमा दाबी पेस गरेर आजै दिउँसो उनलाई शपथ गराउने गरीको तयारी भइरहेको छ ।

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिएको थियो । उक्त प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए ।

अदालत जाँदै मुख्यमन्त्री कार्की

यसैबीच कोशीमा नयाँ सरकार आव्हानविरुद्ध मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन् । त्यसका लागि उनी काठमाडौँ पुगिसकेका छन् । कार्कीले आजै सरकार गठन प्रक्रिया रोक्न माग लिएर सर्वोच्चमा रिट दायर गर्ने तयार गरेको जनसम्पर्क सल्लाहकार लीलाबल्लभ घिमिरेले जानकारी दिए ।

आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनी अदालत जान लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार