विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ ले वडाभित्रका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । वडाभित्रका अति विपन्न परिवार छनौट गरेर निःशुल्क स्वास्थ्य बिमा गरिदिने वडा अध्यक्ष राम कार्कीले जानकारी दिए ।
त्यसका लागि आइतबार वडा अध्यक्ष कार्कीले सूचना जारी गरेर दलित, विपन्न, अतिगरिब, पिछडिएका तथा अल्पसंख्यक समुदायका नागरिकलाई आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा वडाले स्वास्थ्य बिमा कार्यक्रमका लागि दुई लाख रुपैयाँ विनियोजन गरिएको कार्कीले बताए । निःशुल्क बिमाका लागि निवेदन र घरधनीको नागरिकताको फोटोकपी वडामा बुझाउनुपर्नेछ ।
वडा तहबाटै पहिचार गरेर निःशुल्क बिमा गरिदिँदा नागरिकको उपचारमा सहज हुने कार्कीले बताए । ‘रकम हुनेले आफैँ गर्नुहुन्छ । तर, गरिब, विपन्न, दलित, पिछडिएका तथा अल्पसंख्यक समुदायका नागरिकको बिमा वडाले गरिदिन्छ’ उनले भने, ‘चालु आर्थिक वर्षमा यसका लागि दुई लाख बजेट छुट्याएका छौँ ।’
स्वास्थ्य बीमा नभएका कारण औषधि उपचार गर्दा महँगो खर्च हुने र पैसा अभावकै कारणले उपचार गराउन समस्या हुने छ । । सोही समस्यालाई ध्यानमा राख्दै वडा नम्बर ७ ले लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको हो ।
निःशुल्क बीमामा अधिकतम पाँच जनासम्मको परिवारलाई रु एक लाखदेखि एक लाख २५ हजारसम्मको बीमा गरिन्छ । बीमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन् ।