विराटनगर : नेकपा एमाले भोजपुरमा नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी सुरु भएको छ । बिहीबार एमाले उपाध्यक्ष राम बहादुर थापा (बादल) ले उद्घाटन गरेको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि नेताहरुबीच रस्साकस्सी चल्न थालेको छ ।
नयाँ नेतृत्वका लागि भोजपुरमा दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । हालसम्म अध्यक्ष बन्नका लागि दुई नेताले आकांक्षा देखाइरहेका छन् ।
वर्तमान अध्यक्ष शरणकुमार राई र उपाध्यक्ष मकर खड्काले अध्यक्षमा दाबी गरिरहेका छन् । राईलाई एमाले नतो तथा पूर्वमन्त्री कृपाशुर शेर्पा, केन्द्रीय सदस्य हरी राईलगायतका नेताहरुको साथ रहेको छ ।
यस्तै खड्कालाई स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेश सांसद सिर्जना राईलगायतको समर्थन रहेको छ ।
सर्वसम्मतिको पहल भइरहे पनि अन्ततः निर्वाचनको सम्भावना रहेको नेताहरुले बताएका छन् । भोजपुरमा लामो समयदेखि दुई समूहबीच प्रतिस्पर्धा हुँदै आएको छ ।