विराटनगर : प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि शनिबार मतदान हुँदै छ । इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्य पदका लागि मतदान हुने छ । मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म हुने छ ।
मतदानको पूर्वसन्ध्यामा निर्वाचन आयोगले मतको महत्वलाई बुझेर आफूले छानेको उम्मेदवारको चिह्नमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातामा आह्वान गरेको छ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँकतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना हुन सक्नेमा आयोग सचेत रहेको र त्यस प्रकारको गतिविधि सिर्जना गर्ने वा गराउन खोज्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले मतदान कार्य निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । आयोगले उपनिर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्नका लागि अपिल गरेको छ ।