इन्सेन्टमा रतुवामाईकी उपमेयर दमयन्ता चुडाल
काण्डैकाण्डको पालिका रतुवामाई अहिले फेरि अर्को काण्डले निकै चर्चामा छ । कोरोना महामारीमा जनतालाई राहत वितरण गर्नका लागि विभिन्न निकायबाट संकलन गरेको खाद्य सामाग्री वितरण नै नगरी तीन वर्षसम्म गोदाममा राख्दाराख्दा कुहाएर फालेपछि यो विषयले अहिले खुव चर्चा कमाएको छ ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचनपछि जनप्रतिनिधिहरुले जनतासँग गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्नु हो । तर, रतुवामाईमा भने जहिल्यै यसको उल्टो हुने गरेको छ । भन्छन् एउटा, गर्छन अर्कै ।
रतुवामाईमा ७५ नाघेका कांग्रेसका नागेश्वर सिंह मेयर र ६५ वर्ष नाघेकी एमालेकी दमयन्ता चुडाल उपमेयर छन् । उनीहरुको उमेरजस्तै काम पनि सुस्त छ । रतुवामाई उल्लेख्य विकास हुन सकेको छैन् । बरु यो पालिका बेलाबेलामा काण्डहरुले चर्चामा ओउने गरेको छ । देशव्यापी समाचारको हेडलाइन बन्ने गरेको छ । एक करोडको सार्वजनिक शौचालय बनाएर एकाएक चर्चामा आएको रतुवामाईमा अहिले खाद्यान्न गाडेको विषयले देशभर चर्चा पाइरहेको छ । यो विषयले सामाजिक सञ्जाल निकै तातिरहेको छ ।
देश संघीयतामा गएको ६ वर्ष पुरा भइसकेको छ । तरपनि संघीयताको मर्मअनुसार काम हुन सकिरहेको छैन् । घरआगँनका सिंहदरबारका सरकारहरुले यस्ता काण्ड मच्चाइरहँदा संघीयताप्रतिको वितृष्णा बढिरहेको छ ।
हुन त स्थानीय तहमा निर्वाचित भएकाहरुलाई उनीहरुका माउ पार्टीले स्थानीय सरकार सञ्चालनको तरिका सिकाएका छैनन् । जनप्रतिनिधिहरु जे जानियो त्यही गरियो भन्ने ठाउँमा छन् ।
संसदीय खेल बहुमत र अल्पमतको हुन्छ । तर, स्थानीय तहमा प्रमुख नै कार्यकारी हो । कतिपय कुरामा बहुमत, अल्पमतको कुरा पनि आउँछ । रतुवामाई उपमेयरसहित बहुमत भएको एमाले निरीह जस्तो बनिरहेको छ । यत्रा काण्ड निस्किरहँदा एमाले मुखदर्शक बनेको छ ।
पछिल्लो काण्डका रुपमा उदाएको कोरोना महामारीको समयमा राहत वितरण गर्न ल्याएको समाग्री रतुवा खोलाको बगरमा लगेर गाडेको विषयमा पनि एमाले खरो रुपमा प्रस्तुत हुन सकेको छैन् । त्यसको विरोधमा अहिलेसम्म एमालेका कुनैपनि जनप्रतिनिधि प्रस्तुत भएका छैनन् । कृषि शाखका कर्मचारीले कसैलाई नसोधी खोलामा लगेर नष्ट गरेको भनिएको छ । तर, जनप्रतिनिधिले यो विषयमा मुख नखोल्दा यो प्रकरणमा कर्मचारीको मात्रै दोष छ भनेर यकिन गर्न सकिने अवस्था छैन् ।
बरु बाहिर चर्चा हुन थालेको छ, ‘एमालेकी उपमेयरले गल्ती गरेका कारण उनीहरु त्यसको बचाउमा लागेका छन् ।’ हुन पनि यसलाई शंकास्पद रुपमा लिनुपर्ने अवस्था पनि छ । किनकि नगरमा यत्रो काण्ड मच्चिरहँदा उपमेयर र कार्यापालिकामा रहेका एमालेका सदस्यहरु चुइँक्क नबोल्नुले यहाँ ‘सेटिङ’ भएको छ भन्ने शंक ागर्न प्रशस्त स्पेस निर्माण भएको छ ।
उक्त घटना सावैजनिक भएपछि नगरबासी आन्दोलनमा छन् । आजै मात्र नगरप्रमुखको कार्यकक्षमा सर्वदलीय बैठक पनि बस्यो । तर त्यसले निकास दिन सकेको छैन् । बैठक सकेर साँझमा नगर प्रमुख उपमेयर र वडा नम्बर ७ का वडा अध्यक्षलाई लिएर रतुवा बगरमा पुगे । उनीहरु नगरको जेसिबीसहित बगरमा पुगेका थिए । उनीहरुको उद्धेश्य के हो ? अनि यत्रो काण्ड सार्वजनिक भइसकेपछि एमालेका जनप्रतिनिधि मेयरको पछिपछि प्रमाण नष्ट गर्न जानु आफैमा शंकास्पद विषय बनेको छ । यो विषयमा थप छानविन हुनु आवश्यक छ ।
साच्चै भन्नुपर्दा रतुवामाईमा जनप्रतिनिधिहरुको काम बैठक र भत्ता पचाउने मात्रै हो भन्दा फरक नपर्ने दिन आएको छ । चुनावी प्रतिवद्धता भूलेर सबै आफ्नो स्वार्थमा लिप्त भएका छन् । भत्किएका सडक, पुल बनाउने कुनै योजना छैन् । किसानलाई प्रोत्साहन गर्ने नीति तथा योजना छैन् । जताततै विकराल अवस्था छ । नगरबासीले परिवर्तनको आभास गर्न पाएका छैनन् । अवस्था दयनीय छ । यस्ता मुद्धामा प्रतिपक्षमा रहेको एमालेले कुरा उठाउन नसक्नु आफैमा दुर्भाग्य हो ।
जनताले तपाईंहरुलाई किन जिताए भन्ने कुरा बिर्सिएर बस्दा भोलिको अवस्था के होला ? उनीहरूले सोच विचार गरेकन छैनन् । उनीहरुले भोलि देखेका छैनन्, आजमै सीमित छन् । यसरी बहुमतवाला नै बेकामे भएपछि नगरको विकास कसरी होला ? बहुमत प्राप्त दलनै बेकामे भएको छ । प्रश्न छ – नगरले गरेका कमीकमजोरी जनतामाझ ल्याउन तपाईंहरुलाई के ले रोकेको छ ? त्यसैले फेरि पनि भन्छु– मौका पाएको बेला हामी चुक्नु हुँदैन । बाटो छाडियो भने सहि बाटो पैल्याउन फेरि समय लाग्छ । समयमै सचेत भएर काम गरौ । समृद्ध नगर बनाउज जोडवलले लागौं । बहुमतलाई शुभकामना !