Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कम्युनिष्ट पार्टी जन्मिएपछि देशमा लाभैलाभ भएकाे छ: ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कम्युनिष्ट पार्टीको उदयपछि लाभैलाभ भएका बताएका छन्।

कम्युनिष्ट पार्टी स्थापनाकाे हीरक जयन्तीका अवसरमा पार्टीले ललितपुरको गाेदावरीमा आयाेजना गरेकाे कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

कम्युनिष्ट पार्टीकाे जन्मपछि नै देशमा राणा शासन, पञ्चायत तानाशाह, राजतन्त्र अन्त्य भएर लाेकतन्त्र स्थापना भएकाे उनकाे भनाइ छ।

ओलीले अहिले  सहकार्यको माध्यमबाट निकट हुँदै जाने र क्रमशः एकताको  विन्दुमा पुग्ने बताएका छन्। अहिले आफूहरू हानिकारक विभाजनबाट फेरि उठेको र यसलाई समीक्षा गरी एकताको विन्दुमा पुग्ने बताएका हुन्।

‘०७४ मा एउटा विभाजन, ०७७, ०७८ अर्को विभाजन। विभाजन हुनुहुँदैनथ्यो। विभाजनबाट फेरि उठेका छौँ। समयमा समीक्षा गरौँला, प्रचण्डजीले भनेजस्तै अहिले हामी पार्टी एकीकरण गरिहालौँ, एकीकरण भइहाल्छ होइन,’ उनले भने, ‘यो फेरि अर्को एउटा व्यक्तिगत तुष्टिको विषय मात्र हुन सक्छ। यसले फेरि आन्दाेलनमा समस्या पैदा गर्न सक्छ। अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमश: हामी एकताको विन्दुमा पुग्न सक्छौँ। तर, अहिले नै देशभरका मिलौँ भन्ने हो भने किन फुटेका थियौँ भन्ने प्रश्नहरू उठ्छन्। अहिले सहमति, सहकार्यको बाटो जाऊँ।’

यतिवेला वामपन्थी मात्रै मिलेर अघि बढ्ने स्थिति नभएको बताउँदै उनले देशभक्त शक्तिहरू, सार्वभौमसत्ताका पक्षमा रहेका शक्तिहरू, स्वतन्त्रता, भौगाेलिक अखण्डता, राष्ट्रिय स्वाभिमानका पक्षमा रहेका मान्छेहरू, भ्रष्टाचारविरुद्धका शक्तिहरू, विकासलाई अगाडि बढाउनुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउनेविरुद्ध एक हुन आह्वान गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार