Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दर्ता नगरी विराट निदान अस्पताल सञ्चालन, तत्कालन बन्द गर्न महानगरको निर्देशन



विराटनगर : दर्ता नगरी सञ्चालन भइरहेको विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरलाई तत्कालन बन्द गर्न विराटनगर महानगरपालिकाले निर्देशन दिएको छ ।

मोरङको विराटनगर–३ स्थित दूधफारममा अनुमति नलिई उक्त अस्पताल सञ्चालन भइरहेको छ । अनुमतिबिना स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि शुक्रबार विराटनगर महानगरपालिकाले अनुगमन गरेर तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्व टोलीले अस्पतालको अनुगमन गरी महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख दिलीप यादवले जानकारी दिए ।

अस्पतालले व्यवसाय दर्ता र इजाजतपत्र नलिई सञ्चालन गरेको छ । अनुगमन टोलीले इजाजतपत्र प्राप्त नभएसम्म कुनै पनि स्वास्थ्य उपचार नगर्न निर्देशन दिएको छ ।

सामाजिक विकास समितिका संयोजक बस्नेतले गैरकानुनी रुपमा सञ्चालन हुने जुनसुकै पेशा व्यवसायलाई पनि कानुनी दायरामा ल्याउने बताए । उनले सही तरिकाले काम गर्नेलाई महानगरले सधैं सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

त्यो त उक्त अस्पताल सञ्चालन भइरहेको भवनको निर्माण कार्य पनि सम्पन्न भइसकेको छैन् । जानकारहरुका अनुसार उक्त भवन मापदण्डविपरीत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार