विराटनगर : कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो।
संकल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत बिभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए। संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेका थिए।
सभामुखले प्रस्तावको पक्ष विपक्षमा रहेका मत गणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन्। त्यस्तै मत दिन्न भन्ने पक्षमा भने तीन सांसद रहेका थिए।
मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन बाध्य पार्न एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव ल्याएका हुन्।
उक्त संकल्प प्रस्तावमा भनिएको छ, ‘माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी एमाले र माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिई सरकारबाट फिर्ता भइसकेको र बहुमत प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा समर्थन फिर्ता लिएको मिति २०८० चैत २६ को मितिले संविधानकोे धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस् ।’