विराटनगर : नेकपा एमाले खोटाङको अध्यक्षमा नेता विशाल भट्टराई निकट देवबिक्रम राई निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १५२ मतले पछि पार्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । राई यसअघि जिल्ला कमिटीको उपाध्यक्ष थिए । राईले ३३९ मत ल्याउँदा दंगालले १८७ मत मात्र ल्याए ।
जिल्ला कमिटीको आठौँ अधिवेशनबाट उपाध्यक्षमा कुमार आचार्य ३५८ मतसहित विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी उपिनकुमार राईलाई २२४ मतले १३४ मत मात्रै पाए ।
यस्तै सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका थिए । खुल्ला उपसचिवमा राजन बञ्जरा १४० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी गीरेन्द्रबहादुर राईले १३५ मत प्राप्त गरेका थिए । खुल्ला उपसचिवमा ७ जनाको उम्मेद्वारी परेको थियो ।
समावेशी उपसचिवमा कविता राई निर्वाचित भएकी छन् । उनले ४१२ मत ल्याएर विजयी हुँदा प्रतिद्धन्द्धी भगवती प्रधानले ८० मतमात्र ल्याइन् ।
निर्वाचनमा ५३९ मत खसेको जनाइएको छ । आठौँ जिल्ला अधिवेशनमा ५६६ जना प्रतिनिधि सहभागी भएको एमाले खोटाङले जनाएको छ ।
पदाधिकारीमा निर्वाचित सबै नेकपा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई निकट हुन् । यता पराजित दंगालको समूहलाई केन्द्रीय सदस्यहरु उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको थियो ।
चैत–२८ गते एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन भएको थियो । अधिवेशनमा स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवम् खानेपानीमन्त्री राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।