Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओखलढुंगाका निवर्तमान जिल्ला अध्यक्ष शंकर कटवालले छाडे एमाले



विराटनगर : नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका निवर्तमान जिल्ला अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन् । जिल्ला कमिटीको दशौँ अधिवेशनमा नेतृत्वबाट हस्तक्षेप भएको भन्दै उनले एमाले छाडेका हुन् ।

बुधबार एमाले ओखढुंगाको अध्यक्षमा ज्ञानबहादुर खड्का, उपाध्यक्षमा कमल न्यौपाने, सचिवमा अशोक थापा, उपसचिवमा अस्मिता थापा र राजिव कटुवाल निर्वाचित भएका थिए ।

निवर्तमान अध्यक्ष कटवालले बिहीबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । नवनिर्वाचित कमिटीलाई बधाई दिँदै उनले भनेका छन्, ‘तपाईँहरुको कार्यकालमा ओखलढुंगामा सबै पालिका, वडा, प्रदेश र सघंको निर्वाचन जित्न र जिताउन सक्नु होस, शुभकामना ।’

आफूले राजनीतिक जीवनको ३४ वर्षमा पनि अहिलेको अधिवेशनमा जस्तो रबैया र गतिबिधिहरु तथा विभिन्न खालका अरोपप्रत्यारोपको होडवाजी र नेतृत्वको कार्यशैली र पक्षधरता देखेको बताए ।

उनले भने, ‘अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनीतिकर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यहि कुरालाई महसुस गरी मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज क. खगेन्द्र राई मार्फत पार्टी परित्याग गरेको राजिनामा पठाएको छु ।’ यस्तै उनले आफू अब एमालेको साधारण सदस्यसमेत नरहेको बताएका छन् ।

जिल्ला अधिवेशनमा प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने क्रममा उनलाई बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि स्थायी कमिटी सदस्य शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सदस्य अम्बीरबाबु गुरुङसम्मले हस्तक्षेप गरेपछि उनी पार्टी छाड्ने अवस्थामा पुगेको बताइएको छ ।

केन्द्र र प्रदेशका नेताहरुले जिल्लामा बसेर राजनीति नगर्ने व्यवसायीहरुको समुह खडा गरी प्यानल बनाएर चुनाव गराएको भन्दै ओखलढुंगामा विवाद बढ्दै गएको छ । दशकौं श्रम र पसिना बगाएका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर केन्द्रिय नेतृत्वबाटै नांगो हस्तक्षेप भएपछि उनले पार्टी परित्याग गरेको हुन सक्ने एमाले ओखलढुंगाका एक नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार