Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङको ओलाङचुङगोला जाँदै एमाले अध्यक्ष केपी ओली



विराटनगर : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाने भएका छन् ।

एमाले जिल्ला कमिटीको कार्यालय भवन उद्घाटनको लागि ताप्लेजुङ जान लागेका ओली ओलाङचुङगोलासम्म पुग्ने भएका हुन् ।

अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती त्यहाँ जाने कार्यक्रम रहेको छ ।

निर्माणधीन तमोर करिडोरको सडकको निरीक्षण गरेर चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला पुगेर ओलीसहितका नेता फर्किनेछन् ।

तमोर करिडोर मार्फत् ओलाङचुङगोला जोडिएपछि त्यहाँका बासिन्दालाई सजिलो भएको छ । फुङलिङबाट ६५ किलोमिटरमा रहेको ओलाङचुङगोलामा साना सवारीको ओहोरदोहोर हुन थालेको छ ।

ओलीले आज बिहानै सामाजिक सञ्जालबाट आफू ओलाङचुङगोला जाने जानकारी गराएका छन् । ओलाङचुङगोलाको तस्बिर सार्वजनिक गर्दै उनले उक्त स्थान समुद्री सतहबाट ५२०० मिटर उचाइमा रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘यो तस्बिर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि वताउने छु । तस्बिरका लागि उमेश थापालाई धन्यवाद !’

प्रतिक्रिया
सम्बन्धित समाचार