विराटनगर : काशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन जरुरी नभएको बताएका छन् ।
नेकपा एमाले र माओवादीले माग गरेअनुसार प्रदेश प्रमुख परशुराम खापुङे बैशाख ६ गते विशेष अधिवशेन आह्वान गरेपछि मन्त्री राईले बुधबार साँझ निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिने उनले बताए । उनले विशेष अधिवेशनका विषयमा सरकारको बैठक बसेर प्रदेश प्रमुखसँग छलफल गर्ने बताए ।
सरकारलाई कमजोर बनाउन विपक्षहरु मिडियामार्फत तर्साउने काममा लागेको मन्त्री राईको आरोप छ । यस्तै उनले कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भनेका सबै कुरा मान्न जरुरी नभएको बताए । उनले भने, ‘संसदीय दलमा उद्धव थापा मात्रै छन् र ? उनले भनेका सबै कुरा मान्नलाई ?’
सोमबार एमाले र माओवादीका ५२ जना सांसदले कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । थापाको उक्त अभिव्यक्तिलाई लक्षित गर्दै राईले आक्रोश व्यक्त गरेका हुन् ।