Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बैशाख ६ गते कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान



विराटनगर : कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खापुङले आगामी बैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादीका ५२ जना सांसद मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख खापुङले बैशाख ६ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाका एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको सोमबार लिखित अनुरोध गरेपछि खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नियमित अधिवेशन नबोलाइएको अवस्थामा विशेष अधिवेशन माग गर्ने अधिकार दलहरूलाई छ । प्रदेश सभाको नियमित अधिवेशन नबोलाइएको अवस्थामा दुई दलले बहुमतसहित विशेष अधिवेशन माग गरेका थिए ।

तर दुई दलले विशेष अधिवेशन आह्वानका लागि निवेदन दिएलगत्तै मुख्यमन्त्री कार्कीले आगामी जेठ ११ गतेको मितिमा नियमित अधिवेशन बोलाउन प्रदेश प्रमुखसक्षम सिफारिस गरेपनि प्रदेश प्रमुखले बहुमत सदस्यको मागलाई सम्बोधन गर्दै बैशाख ६ मा अधिवेशन आह्वान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार