विराटनगर : नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन समय दिने बताएका छन् ।
मंगलबार प्रदेशसभा सचिवालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलले मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बताएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत नलिए स्वतः पदमुक्त हुने बताए । उनले बहुमत प्रदेशसभा सदस्यले विश्वासको मत फिर्ता लिएकाले संविधानले तोकेको समयसिमाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बताए ।
यस्तै भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न माग गरेका छन् । भण्डारीले सरकार गठनका लागि प्रदेश प्रमुखलाई दबाब नभई अनुरोध गरेको बताउँदै भने, ‘कोशी प्रदेशमा एमाले र माओवादीको माग १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान होस् भन्ने हो । यो हाम्रो प्रदेश प्रमुखलाई आग्रह हो दबाब होइन ।’
उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि नै राजीनामा दिनेमा विश्वास व्यक्त गर्दै भने, ‘ हामीले प्रदेशसभामा संकल्प प्रस्ताव सेप गर्नु अघि नै उहाँले राजीनामा दिनुहुन्छ भन्ने लाग्छ । नभए बहुमत विपक्षमा हुने भएपछि उहाँले विश्वासको मत लिनुपर्छ ।’
यस्तै माओवादीका सांसद दुर्गाप्रसाद चापागाईंले मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।
उनले विपक्षी दलका सांसदले विशेष अधिवेशनको माग गरेपछि मुख्यमन्त्रीले चलाखीपूर्ण ढंगले जेठ ११ गते संसद अधिवेशन आह्वान गर्न गरेको सिफारिस लोकतान्त्रि विधि र पद्धति विपरीत भएको बताए ।