विराटनगर : कोशीमा सोमबार नयाँ गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिए । माओवादीबाट मन्त्री तीन जनाले राजीनामा पनि दिए ।
तर, केन्द्रको सत्ता गठबन्धनमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीले भने तत्काल केदार कार्कीको सरकारबाट नबाहिरिने र समर्थन फिर्ता पनि नलिने बताएको छ ।
एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका संसदीय दलका नेता एवम् पूर्वमुख्यन्त्री राजेन्द्रकुमार राईले तत्काल समर्थन फिर्ता नलिने बताए ।
सत्ताका लागि गठबन्धन फेरिरहनु राम्रो नभएको उनको तर्क छ । ‘हामी सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिदैनौँ, जनतालाई किन निराश पार्नु? गठबन्धन संविधान रक्षाको लागि बनेको हो, त्यसरी नै चुनाव भयो र सरकार त्यसरी नै भयो,’ उनले भने, ‘सत्ताको लागि उथलपुथल, सबै लथालिंग भयो, कोशी प्रदेशको सरकार बनाउन गाह्रो छ। सरकार अस्थिरता भएकाले काम पनि बढ्दैन, बजेट नै राम्रोसँग अगाडि बड्दैन।’
केही समयअघि राईले सत्ताका लागि गठबन्धन भएको भन्दै त्यसमा आफूहरुले पनि चित्तबुझ्दो भागबण्डा पाउनुपर्ने अडान राख्दै आएका थिए ।
तर, स्रोतका अनुसार राईले भनेजस्तो डिमान्ड पुरा गर्न नसकेपछि उनलाई नयाँ गठबन्धनले बेवास्ता गरेको हो । राईले आलोपालो सरकारको नेतृत्व र मन्त्रिमण्डल विस्तारमा सम्मानजनक भाग पाउनुपर्ने राईले अडान राख्दै आएको बताइएको छ ।
कोशीमा नेकपा एमाले र नेकपा माओवादीले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार बनाउनका लागि दाबी पेस गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएर एमालेका ३९ र माओवादीका १३ गरी ५२ जना सांसदहरूले हस्ताक्षरसहित नयाँ सरकारका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सरकारको दाबी गरेका हुन् ।
समर्थन फिर्तासँगै उनीहरुले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई वैकल्पिक सरकारको नेतृत्वको लागि मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधान बमोजिम बहुमत सदस्यको विश्वास गुमाइसकेको दुई दलले प्रदेश प्रमुखलाई सुझाएका छन् ।