विराटनगर : कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।
नेकपा माओवादी नेता तथा कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले दुई दलबीच सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति भएको बताए ।
आइतबार विराटनगरमा दुई दलका शीर्ष नेताबीच सरकार परिवर्तनको विषयमा छलफल भएको थियो । बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, उपनेता रामबहादुर राना, प्रमुख सचेतक रेवतीरण भण्डारी सहभागी थिए । यस्तै माओवादीका तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, प्रदेश सदस्य तथा पूर्वमन्त्रीहरु दुर्गाप्रसाद चापागाईं, बाबुराम गौतम र जीवन आचार्य सहभागी थिए ।
नेता चापागाईंले संयुक्त रुपमा समर्थन फिर्ता लिने तयारी भएको बताए । उनले भने, ‘केही समयभित्र सरकारलाई दिएको समर्थन फिर्ता गर्छौ र नयाँ सरकार बनाउन प्रक्रिया अघि बढाउँछौ ।’
गठबन्धन दलको सहमित अनुसार कोशी सरकारको नेतृत्व एमालेले गर्नेछ । तर, नेताहरुले भने प्रदेशमा आलोपालो एमाले र माओवादीले सरकारको नेतृत्व गर्ने बताइरहेका छन् ।
खासगरी माओवादीले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने दाबी गर्दै आएको छ । एमालेले भने त्यसको निर्णय केन्द्रमा नेताहरुले गर्ने बताउँदै आएको छ ।
माओवादीका एक नेताका अनुसार कोशीमा सुरुमा एमालेका हिक्मत कार्की र उनीपछि माओवादीका इन्द्रबहादुर आङ्बोले सरकारको नेतृत्व गर्ने सहमति जुटिसकेको छ । प्रदेशमा उक्त सहमति अनुसार सरकार बन्ने ती नेताले बताए ।
कोशीमा केदार कार्की एमालेकै सहयोगमा मुख्यमन्त्री बनेका हुन् । गत असोज २७ गते नेकपा एमालेका ३९ र नेपाली काँग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।
तत्कालीन सत्ता गठबन्धनले नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीले ८ सांसद लिएर विद्रोह गरेका थिए । त्यसबेला कार्कीको विद्रोहलाई एमालेले साथ दिएको थियो ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले शपथ लिएपछि एमालेका रामबहादुर राना र विद्रोही सांसद शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि कात्तिक १६ गते माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
कार्कीले विश्वासको मत लिँदा प्रदेशसभामा ६ सांसद भएको राप्रपा बाहेक सबै दलले मत दिएका थिए ।
कोशी सरकारमा अहिले केन्द्रको गठबन्धनमा भएका नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहभागी छन् । जनता समाजवादी पार्टीले सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी भएको छैन् ।