विराटनगर : आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका छन् ।
शनिबार दिउँसो नेम्वाङले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुगेका सुहाङसँग नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, हिक्मत कार्की, शिवमाया तुम्बाहाम्फे, पोलिट्ब्युरो सदस्य तिलकुमार मेन्याङ्बो, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य रामबहादुर राना, जिल्ला अध्यक्ष महेश बस्नेत लगायतका नेताहरु पनि पुगेका थिए ।
सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा (रमण) रहेका छन् । सुवेदी उम्मेदवारका आकांक्षी थिए भने शर्मा माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप) ले मनोनयन दर्ता गराएका थिए ।
यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेको छन् । यस्तै डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् ।
पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा एककिकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् ।
रास्वपाबाट मिलन लिम्बू र कांग्रेसका डम्बर खड्का मनोनयनको तयारीमा छन् ।
