Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले उदयपुरको अध्यक्षमा घिमिरे र राउत भिड्दै



विराटनगर : नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे र भागवत राउत भिड्ने भएका छन् । अध्यक्षका लागि पाँच जनाले मनोनयन दर्ता गराएपनि तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका बिमल कार्की, गोपाल खत्री र खड्गबहादुर परियार चुनावबाट ब्याक भएका हुन् । योसँगै अध्यक्षमा घिमिरे र राउत भिड्ने भएका हुन् ।

घिमिरे एमालेको वर्तमान जिल्ला अध्यक्ष हुन् । पूर्व प्रदेश कमिटी सदस्य रहेका राउत अहिले पार्टीको जिम्मेवारीमा छैनन् ।

स्रोतका अनुसार अध्यक्षको उम्मेदवारी फिर्ता लिएका बिमल कार्कीले राउतलाई सहयोग गर्ने भएका छन् । राउतको पक्षमा कार्कीसँगै एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य ईश्वरमणी राउत छन् ।

घिमिरेलाई कटारी नगरपालिकाका पूर्वमेयरसमेत रहेका प्रदेश कमिटी सदस्य ज्ञानेन्द्र श्रेष्ठ, चौदण्डीगढीका मेयर तथा वर्तमान जिल्ला सचिव कालुमान लामाको साथ छ । नेताहरुका अनुसार घिमिरेलाई प्रदेशमा भएका केही स्थायी कमिटी सदस्यहरुको पनि सहयोग रहेको छ । लामाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यस्तै उपाध्यक्षमा लामासहित दिलबहादुर तामाङ र भरतबहादुर थापाको प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा महेश रोका, टेकबहादुर राउत र सम्भु पौडेलको छन् । यस्तै महिला उपसचिवमा गंगा राई, गीता खड्का र महेश्वरी राईबीच प्रतिस्पर्धा हुने भएको छ ।

खुल्ला उपसचिवका लागि ६ जना प्रतिस्पर्धामा छन् । हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उपसचिवमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार