विराटनगर : नेकपा एमाले उदयपुर जिल्ला कमिटीको अध्यक्षमा चार नेताले दाबी गरेका छन् । एमाले उदपुरको नवौँ अधिवेशनबाट अध्यक्ष बन्नका लागि ४ नेताले दाबी गरेका हुन् ।
मंगलबारबाट जिल्ला सदरमुकाम गाईघाटमा सुरु भएको अधिवशेनको बन्द सत्र शुरु भएको छ । नेताहरुले सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेपछि अध्यक्षमा बढी आकांक्षी देखिएका हुन् ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष परमेश्वर घिमिरेसहित चार नेताको दाबी छ । पूर्व प्रदेश सांसदसमेत रहेका विमल कार्की पनि अध्यक्ष बन्ने दौडमा छन् । कार्की गत असोजमा सम्पन्न भएको एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सदस्य पदमा पराजित भएका थिए ।
यस्तै पूर्व प्रदेश कमिटी सदस्य भागवत राउत र गोपाल खत्रीले पनि अध्यक्षमा दाबी गरेका छन् ।
एमाले उदयपुरका एक नेताका अनुसार उनीहरुले प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरिरहेका छन् । यद्यपि नेतृत्वले भने सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइरहेको छ ।