विराटनगर : कोशी प्रदेशरसरकारले प्रदेशका विभिन्न निकायहरुमा नियुक्तिको लागि परामर्श सुरु गरेको छ । लोक सेवा आयोगदेखि खेलकुद विकास बोर्डसम्म नियुक्ति गर्नका लागि प्रदेश सरकारले तयारी गरेको हो ।
कोशीमा प्रदेश लोक सेवा आयोगको अध्यक्ष लामो समयदेखि रिक्त छ । गत मंसिर १७ गते ६५ वर्ष उमेरहदका कारण अध्यक्ष उत्तम भट्टराईले अवकास पाएपछि आयोगमा अध्यक्ष पद खाली भएको हो ।
केन्द्रमा रहेका शिक्षा सचिव सुरेश अधिकारीलाई केही समयअघि अध्यक्ष बनाउने प्रस्ताव गरेपनि उनले नमानेपछि नियुक्ती प्रक्रिया अघि बढेको थिएन् । अधिकारी यहि बैशाखमा ५८ वर्षे उमेदहदका कारण केन्द्रको शिक्षा सचिवबाट अवकास हुँदैछन् ।
पछिल्लो समयमा केन्द्रमा सत्ता गठबन्धन तलमाथि भएपछि यो नियुक्ति गर्न समस्या भएको छ । अध्यक्ष नियुक्तिका लागि विपक्षी दलका नेता, सभामुख र मुख्यमन्त्रीसहित समितिको सिफारिस गर्ने प्रदेश कानुन छ ।
त्यस्तै २०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त भएकी जिना कार्की लामो समयदेखि अमेरिकामा छिन् । त्यहाँ पनि अर्को महिलालाई नियुक्त गर्ने तयारी छ ।
बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मन्त्रालयको सिफारिसमा सरकारले नियुक्त गर्ने प्रावधान भएपनि उनले राजीनामा नदिइ नियुक्ति गर्न अप्ठ्यारो हुने बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनले कार्कीले सुटुक्कै राजीनामा पठाएको र त्यो स्वीकृति गरेर तत्कालै अर्को व्यक्ति नियुक्ति गर्ने तयारी छ ।
यसका लागि मुख्यमन्त्रीले पूर्व माननीयदेखि अन्य व्यक्तिसँग पनि परामर्श गरेको स्रोतको दाबी छ ।
मुख्यमन्त्री कार्यालयका निमित्त सचिव केदारनाथ शर्माले उपाध्यक्ष नियुक्त गर्ने प्रस्ताव आफू कहाँ नआएको बताए । उनका अनुसार बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
‘सो बैठकमा प्रस्तावको रुपमा भोलि बिहान आयो भने भिन्दै कुरा हो, अहिलेसम्म आएको छैन्,’ उनले भने ।
प्रदेश सरकारका एक मन्त्रीका अनुसार भोलि नै सदस्य सचिव नियुक्ति गर्ने तयारी छ । प्रदेशसभामा पनि बैशाख पहिलो साता ५ वर्षे कार्यकाल पुरा गरेर प्रदेश सभाका सचिव गोपाल पराजुली विदा हुँदैछन् ।
प्रदेशसभामा पनि प्रदेश सचिवको खाजी भइरहेको स्रोतले बतायो ।