विराटनगर : कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवार क्षतिपूर्तिस्वरूरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।
यस्तै मन्त्रिपरिषद्ले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समशेर राईले बताए।
बैठकबाट कात्तिक २६ गते मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुरूले झापा र मोरङमा गराएको उपचारको खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले प्रदेश नियमावली बमोजिम पुस मसान्तपछि निर्णय गरिसक्नुपर्ने अबण्डाको रकमसम्बन्धी सामाजिक विकास मन्त्रालयद्वारा प्रस्तावित एजेण्डालाई पास गरेको छ। मन्त्रिपरिषद्बाट अन्तरप्रदेश खेलकुद प्रतियोगिताका लागि बजेटमा रकम अपुग भएकाले थप रकम निकासा गर्ने निर्णय समेत भएको छ।
यस्तै, अर्को नीतिगत व्यवस्था नहुन्जेलसम्मका लागि करार सेवाका कर्मचारीको म्याद थप्ने निर्णय समेत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ। बैठकले भने सुरक्षित आप्रवासन स्रोत केन्द्रसम्बन्धी निर्देशिका पनि स्वीकृत गरेको जनाएको छ।