विराटनगर : आगामी बैशाखमा हुने उपनिर्वाचनको स्थलगत अवस्था बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाममा आफ्ना सांसदहरुलाई पठाएको छ ।
रास्वपाका अनुसार शुक्रबार साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन् ।
भोलि ती ६ जना सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार सोबिता गौतमलाई इलाम नगरपालिकामा खटाइएको छ भने गणेश पराजुलीलाई देउमाई नगरपालिकामा खटाइएको छ ।
यस्तै मनिष झालाई माई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाइएको छ ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र नम्बर दुईमा खटाउने निर्णय रास्वपाले सअघि नै गरिसकेको छ ।
नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ । उक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ ।