विराटनगर : नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल चयन भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख राजनीतिक सल्लाहकार रहेका गजुरेलले केही समयअघि पदबाट राजीनामा दिएका थिए। गत आम निर्वाचनमा सिन्धुलीमा टिकट नदिएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । सिन्धुली २ बाट निरन्तर जित्दै आएका गजुरेललाई गत चुनावमा टिकट नदिएर माओवादी नेतृत्वले तत्कालिन जिल्ला अध्यक्ष राजन दाहाललाई अघि बढाएको थियो ।
यस्तै मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको पार्टी सचिव गणेश साहले बताए ।
यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ ।